काठमाडौँ :- मालीका रक्षामन्त्री साडियो कामाराको राजधानी बामाको नजिकै रहेको निवासमा भएको आत्मघाती ट्रक बम आक्रमणमा मृत्यु भएको पुष्टि भएको छ। बीबीसीका अनुसार जिहादी विद्रोही र तुआरेग पृथकतावादी समूहले संयुक्त रूपमा गरेको उक्त आक्रमणमा उनका परिवारका तीन सदस्यको पनि ज्यान गएको छ।
सरकारी टेलिभिजनले पनि कामाराको मृत्युको पुष्टि गरेको छ। आक्रमणका क्रममा सैन्य जुन्ताका प्रमुख जनरल आसिमी गोइटाको घरलाई समेत निशाना बनाइएको थियो, तर उनलाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ।
अल-कायदासँग आबद्ध जिहादी समूह र एफएलए नामक तुआरेग पृथकतावादी समूहले देशका विभिन्न स्थानमा एकैसाथ ठूलो आक्रमण गरेका छन्। विद्रोहीहरूले उत्तरी सहर किडालबाट माली सेनालाई सहयोग गरिरहेका रुसी भाडाका सैनिकहरू पछि हट्न सहमत भएको दाबी गर्दै किडाल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा रहेको घोषणा गरेका छन्।
घटनापछि सरकारले देशभर उच्च सतर्कता अपनाएको छ भने राजधानी बामाको लगायतका क्षेत्रमा रात्रिकालीन कर्फ्यु लागू गरिएको छ।




