काठमाडौँ :- पश्चिम एसियामा जारी द्वन्द्वले विश्व ऊर्जा सुरक्षामा बढ्दो दबाब सिर्जना गरेसँगै जापानले अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइइए) लाई आवश्यक परे थप तेल भण्डार बजारमा ल्याउन तयार रहन आग्रह गरेको छ।
टोकियोमा बोल्दै आइइएका प्रमुख फातेह बिरोलले परिस्थितिअनुसार आवश्यक भए थप भण्डार सार्वजनिक गर्न एजेन्सी तयार रहेको संकेत गरे। उनले हालसम्म उपलब्ध कुल भण्डारको करिब ८० प्रतिशत सुरक्षित रहेको र अहिलेसम्म जारी गरिएको ४० करोड ब्यारेल केवल २० प्रतिशत मात्रै भएको बताए। बिरोलले भने, “आवश्यकता परे हामी अघि बढ्न तयार छौँ, तर यस्तो अवस्था नआओस् भन्ने अपेक्षा पनि छ।”
यसअघि जापानी प्रधानमन्त्री साने ताकाइचीले पश्चिम एसियाको अस्थिर अवस्थालाई ध्यानमा राख्दै आइइएलाई थप ‘समन्वित रिलीज’ कार्यान्वयन गर्न तयार रहन आग्रह गरेकी थिइन्। ऊर्जा आपूर्ति अवरुद्ध हुने जोखिम बढ्दै गएकाले यो कदमलाई सावधानीपूर्ण रणनीतिका रूपमा लिइएको छ।




