काठमाडौँ :- भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उहाँकी पत्नीलाई नियन्त्रणमा लिएर न्युयोर्कस्थित हिरासत केन्द्रमा राखिएको दाबी गरिएको छ। अमेरिकी सेनाले शनिबार बिहान भेनेजुएलाको राजधानी काराकासमा हवाई आक्रमण सञ्चालन गरेपछि मादुरो दम्पतीलाई नियन्त्रणमा लिइएको बताइएको हो। उनीहरूमाथि लागूऔषध तस्करी र हतियारसम्बन्धी मुद्दा चलाइएको उल्लेख गरिएको छ।
यसैबीच, अमेरिकी सैन्य कारबाहीपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी तेल कम्पनीहरूलाई भेनेजुएलामा प्रवेश गरी त्यहाँका विशाल कच्चा तेल भण्डारको उपयोग गर्न अनुमति दिने बताएका छन्। पत्रकार सम्मेलनमा ट्रम्पले विश्वका ठूला अमेरिकी तेल कम्पनीहरूले अरबौँ डलर लगानी गर्दै तेल पूर्वाधार सुधार गर्ने र यसबाट आम्दानी सिर्जना हुने दाबी गर्नुभयो।
तर, भेनेजुएलाको तेलमाथि लगाइएको प्रतिबन्ध भने पूर्ण रूपमा कायम रहने ट्रम्पको भनाइ छ। संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि सन् २०१७ मा आर्थिक तथा २०१९ मा तेलसम्बन्धी प्रतिबन्ध लगाएको थियो। भेनेजुएलाले हाल दैनिक १० लाख ब्यारेलभन्दा कम तेल उत्पादन गर्ने र यसको ठूलो हिस्सा छुटमा कालो बजारमा बिक्री हुने बताइन्छ।
ट्रम्पका अनुसार भेनेजुएलाले तेलबाट हुने आम्दानी ‘ड्रग आतङ्कवाद, मानव तस्करी, हत्या र अपहरण’ जस्ता गतिविधिमा खर्च गरिरहेको छ। उहाँको दोस्रो कार्यकालको सुरुवातसँगै सन् २०२५ मा बहुराष्ट्रिय तेल कम्पनीहरूलाई भेनेजुएलामा सञ्चालन गर्न दिइएको लाइसेन्स समाप्त गरिएको थियो। यद्यपि, अमेरिकी कम्पनी चेभ्रोनलाई विशेष अनुमति दिइएको छ, जसले भेनेजुएलाको राज्य स्वामित्वको पीडीभीएसएसँग साझेदारीमा चारवटा तेल क्षेत्र सञ्चालन गर्दै आएको छ।



