काठमाडौँ :- पेरूको कुस्को नजिक रेल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने कम्तीमा ४० जना घाइते भएका छन्। कुस्कोको प्रोसिक्युटर कार्यालयका अनुसार मृतक रेल चालक हुन्।
अधिकारीहरूले घाइते यात्रुहरूको पहिचान भइरहेको बताएका छन्। घाइतेमध्ये धेरैजसो विदेशी पर्यटक हुन् र अधिकांशको अवस्था गम्भीर रहेको जनाइएको छ। दुर्घटनापछि एक दर्जनभन्दा बढी एम्बुलेन्स र चिकित्सकहरूको टोली घटनास्थलमा पुगेर उद्धार तथा उपचार सुरु गरिएको थियो। प्रहरीले हेल्मेट र उज्यालो रंगका ज्याकेट लगाएर घाइतेहरूलाई स्ट्रेचरमार्फत उपचारका लागि अस्पताल पठाएका थिए।
पर्यटन मन्त्रालयका अनुसार उक्त ऐतिहासिक स्थलमा दैनिक करिब ४ हजार ५०० पर्यटक पुग्ने गर्छन्। तीमध्ये ठूलो संख्या रेल र बसमार्फत उच्च एन्डीज पहाडतर्फ यात्रा गर्ने गर्दछन्।
रेल सञ्चालन गर्ने निकायका अनुसार पेरूरेलको एक रेल ओलान्तायटम्बो र पहाडी क्षेत्रमा रहेको प्रमुख पर्यटकीय स्थल जोड्ने एकल पटरिमा अर्को रेलसँग ठोक्किएको हो। दुर्घटनाको कारण अहिलेसम्म खुलाइएको छैन।
यसअघि गत सेप्टेम्बरमा स्थानीय प्रदर्शनका कारण रेल पटरिमा ढुङ्गा र रुखका टुक्रा राखिँदा करिब १ हजार ४०० पर्यटक अग्वास कालिएन्टेस रेल स्टेशनबाट सुरक्षित रूपमा निकालिएका थिए। प्रदर्शनकारीहरूले पर्यटकलाई तल्लो क्षेत्रसम्म पुर्याउने नयाँ बस छनोट प्रक्रियामा सरकारले निष्पक्षता अपनाउन माग गरेका थिए।
उक्त ऐतिहासिक स्थल १५औँ शताब्दीमा इन्का सम्राट पचाकुटेकको आदेशमा निर्माण गरिएको मानिन्छ र यसलाई वास्तुकला तथा इन्जिनियरिङको उत्कृष्ट नमूनाका रूपमा हेरिन्छ।



