काठमाडौँ :- भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिनुपर्नेमा जोड दिएका छन्। उनले आज ललितपुरमा आयोजित ‘बाँस संरचना डिजाइन मार्गदर्शन २०८२’ विमोचन कार्यक्रममा स्थानीय उत्पादन र प्रविधिको उपयोगमा प्रोत्साहन गर्न आफूले योजना बनाइरहेको बताए।
‘भविष्यका लागि बाँसको आवास’ भन्ने नाराका साथ ‘ह्याविट्याट फर ह्युम्यानिटी’ नेपालद्वारा आयोजित कार्यक्रममा घिसिङले भने, “स्थानीय उत्पादन र प्रविधिको प्रयोगले रोजगारी सिर्जना गर्नेछ र आन्तरिक मागलाई बढावा दिनेछ। बाँसको व्यावसायिक खेतीले संरचना निर्माणका लागि खर्च हुने अन्तर्राष्ट्रिय मुद्रा सञ्चितिमा योगदान पुर्याउनेछ।”
सहरी विकासमन्त्री घिसिङले आफ्नै देशको काठ र काठजन्य वस्तु प्रयोग नगर्दा अर्थतन्त्रमा नकारात्मक असर परेको कुरा उल्लेख गर्दै, अब प्रौद्योगिकिमैत्री र भूकम्प प्रतिरोधी संरचना निर्माणमा बाँसको प्रयोगमा ध्यान दिनुपर्नेमा जोड दिए। “हामीले हाम्रो ठाउँको काठ प्रयोग गर्न नसक्दा अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको छ। काठ आयातमा हामीले धेरै रकम खर्च गरिरहेका छौँ, बाँसको संरचनालाई प्रयोगमा ल्याउँदा यसले अर्थतन्त्रमा ठूलो परिवर्तन ल्याउनेछ,” उनले भने ।




