काठमाडौं :- भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निर्माणाधीन मुग्लिन-पोखरा सडक शीघ्र सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएका छन् । आज जामुनेबाट पोखरासम्मको पश्चिमखण्डको निरीक्षण गर्दै उनले कामलाई निर्धारित समयमा सम्पन्न गरी आवागमन सहज बनाउन आग्रह गरे ।
मन्त्री घिसिङले पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखरासम्मको प्रगति विवरणबारे जानकारी लिँदै समस्या समाधानका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए। हालसम्म पश्चिम खण्डमा भौतिक प्रगति ५९.७६ प्रतिशत र वित्तीय प्रगति ४७.८० प्रतिशत भएको छ।
आयोजना प्रमुख कृष्णबहादुर कुँवरका अनुसार ४८.८८ किलोमिटर दूरीको उक्त खण्डमा ३७.४ किमीमा एकतर्फी कालोपत्रको पहिलो तह सकिएको छ। त्यसमध्ये २९.६१ किमीमा चार लेन र ७.७९ किमीमा दुई लेन कालोपत्र पूरा भएको बताए।




