काठमाडौं :- प्रधानमन्त्री सुशीला कार्कीले मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार रहेको बताएकी छन्।
आज ७७औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले भनिन्, “भ्रष्टाचार केवल आर्थिक अनियमितता मात्र होइन; यो विपन्न, अशक्त र अवसरविहीन नागरिकको मौलिक अधिकार खोस्ने गम्भीर मानवअधिकार उल्लंघन हो। जब कुनै आयोजना भ्रष्टाचारले प्रभावित हुन्छ, बिरामी नागरिक उपचारको अधिकारबाट वञ्चित हुन्छन् र विद्यार्थी गुणस्तरीय शिक्षाबाट वञ्चित हुन्छ।”
प्रधानमन्त्री कार्कीले सरकार भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्म कठोर कदम चाल्न प्रतिबद्ध रहेको कुरा व्यक्त गर्दै पारदर्शिता र जबाफदेहिताको वातावरण बिना मानव अधिकार सुरक्षित रहन नसक्ने बताइन्।
फरक प्रसङ्गमा, उनले लोकतन्त्रको आत्मा स्वच्छ र निष्पक्ष निर्वाचन भएको र नागरिकले भय, प्रलोभन वा दबाब बिना आफ्ना प्रतिनिधिहरू चयन गर्ने वातावरण सुनिश्चित गर्नु राज्यको मौलिक दायित्व भएको स्मरण गराइन्। उनले २०८२ फागुन २१ को निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार संलग्न रहेको जानकारी गराइन्।




