काठमाडौँ :- प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचारविरुद्धको अभियान कुनै पनि हालतमा नरोकिने स्पष्ट गरेकी छन्। जेनजी आन्दोलनको मर्मअनुसार सरकार अगाडि बढिरहेको उल्लेख गर्दै उनले चुनाव तयारीसँगै सुशासन र भ्रष्टाचारविरुद्धको कारबाही समानान्तर रूपमा सञ्चालन भइरहेको बताइन्।
नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सुदन किराती नेतृत्वको प्रतिनिधिमण्डलसँग सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री कार्कीले भनिन्, “हामी काम गर्न आएका हौँ। युवाको बलिदानले सुरु भएको विद्रोहको भावना अनुरूप जिम्मेवारी पूरा गरिन्छ। बहाना बनाएर पन्छिने ठाउँ छैन, हामी रोकिँदैनौँ।”
भ्रष्टाचार छानबिनका लागि नेपालमा विद्यमान संरचनाहरू पर्याप्त रहेको उल्लेख गर्दै उनले अतिरिक्त आयोग गठन नगर्नुको कारण पनि प्रस्ट्याइन्। “अख्तियार, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, केन्द्रीय अनुसन्धान ब्युरो—यी निकायलाई विगतमा दलीय दबाबले काम गर्न दिइएको नहुँला। तर अहिले हामी कुनै प्रभाव पार्दैनौँ। संस्थाहरूले स्वतन्त्रतापूर्वक काम गरून् भन्ने वातावरण तयार गर्दैछौँ,” उनले भनिन्।
अख्तियारले हालै छानबिन र कारबाहीको रफ्तार बढाएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले अत्यधिक दलीयकरणका कारण मुलुकको प्रगति रोकिएको टिप्पणी गरिन्। “ठूला भ्रष्टाचारका मुद्दा र प्रभावशाली व्यक्तिहरूमाथि पनि सम्बन्धित निकायहरूले कदम चाल्दै छन्,” उनले जोड दिइन्।
उनका अनुसार आउँदो चुनावमा युवालाई संसद्मा पठाएर वास्तविक परिवर्तन संस्थागत गर्नुपर्ने समय आएको छ। किसान तथा अन्य पेशा–व्यवसायका नाममा राजनीति गर्ने प्रवृत्तिलाई नै भ्रष्टाचारको जड बताउँदै उनले भनिन्, “किसान मल पाउँदैनन्, तर किसानका नेता विदेश–भ्रमणमा व्यस्त छन्। सहुलियत बीउ–मलदेखि ऋणसम्म एकलौटी हुने अवस्था नै भ्रष्टाचारको मूल कारण हो।”
भेटमा नेता किरातीसहित प्रतिनिधिमण्डलले जेनजी आन्दोलनका मागहरू तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह गरेका थिए। आन्दोलनकारीमाथि भइरहेको धरपकड र केही दलले घोषित रूपमा गुण्डा परिचालन गरेको आरोपसमेत लगाउँदै उनले चेतावनी दिए—यदि गुण्डागर्दीलाई संगठित रूपमा अघि बढाइयो भने जेनजी पक्षले प्रतिकार गर्न बाध्य हुने अवस्था आउन सक्छ।



