काठमाडौँ :- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी विगतका कमी–कमजोरी सच्याउँदै जनताको अपेक्षा अनुरूप अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् । दाङको लमहीमा आयोजित पार्टी एकता सन्देश सभामा बोल्दै उनले १५ वटा कम्युनिस्ट घटक र समूहहरू एकत्रित भएर बनेको वर्तमान नेकपा चुनाव जित्ने उद्देश्य मात्र नभई राष्ट्र र जनताको सुरक्षाका लागि गरिएको ऐतिहासिक निर्णय भएको बताए ।
प्रचण्डले विभिन्न समयमा जनताका पक्षमा काम गर्ने प्रयास भए पनि अपेक्षित परिणाम नआएको स्वीकार गर्दै कमजोरी र त्रुटिको नियमित समीक्षा भइरहेको उल्लेख गरे। उनले यो एकता सभालाई ‘आत्मालोचना सभा’ तथा ‘संकल्प सभा’को रुपमा वर्णन गर्दै विगतका गल्ती नदोहोरिने आश्वासन दिए ।
युवा पुस्ताको पछिल्लो ‘जेनजी आन्दोलन’ले नेतृत्वलाई गम्भीर आत्मसमीक्षातर्फ उन्मुख गराएको बताउँदै उनले नयाँ पुस्ताका भावना र चाहना अनुसार जनताको आवश्यकता पूरा गर्न पार्टीले आफूलाई रूपान्तरण गर्नु अपरिहार्य भएको स्पष्ट पारे ।



