बारा :- बाराको सिमरा विमानस्थल आसपासको क्षेत्र आज दिउँसो १२:३० बजेदेखि बेलुका ८ बजेसम्म कर्फ्यू आदेश अन्तर्गत बन्द गरिएको छ। एमाले नेता महेश बस्नेत सिमरा आउने जानकारी सार्वजनिक भएपछि जेनजी युवाहरूले विरोध प्रदर्शनको तयारी गरेको भन्दै तनावपूर्ण अवस्था देखिएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू जारी गरेको हो।
प्रशासनका अनुसार बढ्दो भीड र सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै अवाञ्छित घटना रोक्न कर्फ्यू आवश्यक भएको बताइएको छ। कर्फ्यू अवधिभर सार्वजनिक आवागमन, भीडभाड तथा कुनै पनि प्रकारका प्रदर्शन पूर्ण रूपमा निषेध गरिएको छ।
विमानस्थल र आसपासका क्षेत्रमा अहिले सुरक्षा निकायको बलियो उपस्थिति देखिनुका साथै निगरानी व्यवस्था थप कडा बनाइएको प्रशासनले जनाएको छ।



