काठमाडौं :- प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बीच पार्टी एकताबारे भएको छलफल सकारात्मक रहेको बताइएको छ। शनिबार पेरिसडाँडामा भएको वार्तामा सहभागी नेताहरूका अनुसार वैचारिक तथा सैद्धान्तिक विषयमा अर्थपूर्ण संवाद भएको छ।
छलफलमा सहभागी नेपाली कम्युनिस्ट पार्टीका नेता प्रमेश हमालले जसपाको वार्ता टोलीसँगको संवाद उत्साहजनक रहेको बताए। *“वैचारिक र सैद्धान्तिक विषयमा हिजो राम्रो छलफल भयो, परिणाम सकारात्मक छ,”* हमालले भने। उनका अनुसार छलफललाई निरन्तरता दिने सहमति भएको छ।
वार्तामा जसपाको तर्फबाट वार्ता टोली संयोजक राजेन्द्र श्रेष्ठ नेतृत्वका प्रतिनिधिहरू सहभागी थिए भने नेकपाबाट प्रमेश हमाल, देव गुरुङ र वर्षमान पुन उपस्थित थिए।
यसैबीच, नेकपासँगको छलफलपछि जसपाले मंसिर १ गतेका लागि केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ। जसपा अध्यक्ष अशोक राईका अनुसार सो बैठकमा आगामी चुनावमा पार्टी कसरी जाने—एकता गरेर कि मोर्चा बनाएर—भन्ने विषयमा निर्णय हुने छ। *“विभिन्न पार्टीहरूसँग छलफल जारी छ,”* राईले बताएका छन्।




