काठमाडौँ :- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अराजकताबाट बनेको सरकारले लोकतान्त्रिक मूल्य–मान्यता स्थापित गर्न नसक्ने बताएका छन्। भदौ २३ र २४ गतेका घटनापछि जन्मिएको गैह्रलोकतान्त्रिक सरकारले लोकतन्त्रप्रतिको प्रतिबद्धता देखाउने अपेक्षा गर्न नहुने उनको टिप्पणी छ।
झापाका अगुवा कार्यकर्ताहरूसँग बिहीबार साँझ भर्चुअल रुपमा सम्बोधन गर्दै उनले अलोकतान्त्रिक सरकारले चुनाव गराउने नाटक गर्नु नै हास्यास्पद रहेको आरोप लगाए। सरकारद्वारा घोषणा गरिएको निर्वाचन मिति नजिकिँदै जाँदा नेताहरूलाई स्थान सीमित पारेर चुनावी प्रक्रिया मञ्चन गर्न खोजिएको उनले जनाए।
“जिल्ला जान नपाउने, निर्वाचन क्षेत्रमा पुग्न नपाउने, प्रचार गर्न नपाउने—यस्तै प्रतिबन्ध लगाएर के प्रकारको चुनाव गराउन खोजिएको हो?” अध्यक्ष ओलीले प्रश्न गरे।
उनका अनुसार एमालेमाथि जेनजीका नाममा गरिएका आक्रमणहरू राष्ट्रहित, राष्ट्रियता, विकास र समृद्धिका पक्षमा काम गर्ने शक्तिलाई कमजोर पार्ने उद्देश्यले गरिएको हो। यस्तो आक्रमण रोक्न एमाले सक्षम रहेको उनले बताए।
ओलीले समाजमा बढ्दो अराजकताप्रति चिन्ता व्यक्त गर्दै पार्टीले टोल–टोलमा सुरक्षा समिति गठन गरिरहेको जानकारी दिए। यी समितिहरू आपराधिक गतिविधि नियन्त्रण, संलग्न व्यक्तिलाई प्रहरीमा बुझाउने र समुदायमा सुरक्षाको अनुभूति गराउने भूमिकामा रहनेछन्।
गैरसंवैधानिक तरिकाले विघटन गरिएको प्रतिनिधिसभालाई पुनर्स्थापना गर्न पार्टीले दबाब बढाउने अध्यक्ष ओलीको भनाइ थियो। उनले कात्तिक २९ गते झापामा हुने जागरण सभालाई भव्य बनाउन तथा जिल्लाहरूमा निरन्तर आन्दोलनका कार्यक्रम सञ्चालन गर्न निर्देशन दिए।
बैठकमा झापा अध्यक्ष प्रेमबहादुर गिरीले भदौ २३/२४ का विध्वंस, आगजनी र तोडफोडपछि उत्पन्न अवस्थाबारे अध्यक्ष ओलीलाई जानकारी गराएका थिए।




