काठमाडौँ :- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजे ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बस्ने भएको छ। कांग्रेसको यो बैठक असोज २८ गतेदेखि निरन्तर रूपमा जारी रहेको हो। बैठकमा भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलन, अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटनपछिको पछिल्लो राजनीतिक स्थिति तथा त्यसमा पार्टीको भूमिकाबारे छलफल भइरहेको छ।
आजको बैठकमा भने मुख्य रूपमा पार्टीको १५औँ महाधिवेशन सम्बन्धी विषयमा केन्द्रीत बहस चल्ने बताइएको छ। सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको कार्यकाल मंसिरभित्र सकिँदै गएको अवस्थामा नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशन गर्ने भन्ने विषय प्रमुख विमर्श बनेको छ।
नियमित महाधिवेशन सम्भव नभए विशेष महाधिवेशन गर्नुपर्ने मत अघि बढेसँगै केही नेताहरूले महाधिवेशन प्रतिनिधिबीच हस्ताक्षर अभियान चलाएका थिए। सो अभियानमा ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षर भइसकेको जानकारी दिइएको छ।
यसअघि, असोज २८ देखि जारी बैठकको क्रममा सभापति देउवाले स्वास्थ्य अवस्था कारण उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए। त्यसपछि लगातार बैठक खड्काको नेतृत्वमा नै चलिरहेको छ।
बीचमा तिहार र छठ पर्व परेकाले कात्तिक १ गतेको बैठकमा पूर्व केन्द्रीय सदस्य ऋषिकेश गौतमको निधनप्रति शोक प्रस्ताव पारित गरी बैठक आजका लागि स्थगित गरिएको थियो।




