काठमाडौँ :- राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार गुह्येश्वरी पुगेर सूर्यदेवसहित छठी माताको पूजा आराधना गरी अस्ताउँदो सूर्यलाई अर्घ्य प्रदान गरेका छन्। देशभर भव्य रूपमा मनाइने छठ पर्वको अवसरमा राष्ट्रपति प्रत्येक वर्ष गुह्येश्वरी र कमलपोखरीमा सूर्यदेवसहित छठी माताको पूजा आराधना गरी अर्घ्य दिने परम्परा पालना गर्दै आएका छन्। यस वर्ष भने उनले केवल गुह्येश्वरीमा पूजा आराधना गरेका छन्।
छठ पर्व कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ। काठमाडौं उपत्यकामा गुह्येश्वरी–गौरीघाट, कमलपोखरी, थापाथली, कुपण्डोल, नख्खु खोला, विष्णुमती र बागमती नदी किनारका छठ घाटहरू भव्य रूपमा सजाइएका छन्। यी स्थानमा छठी माताको माटोको मूर्तिसहित पूजा आराधना हुने परम्परा छ।
व्रतालुहरूले बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिएको दिनदेखि बिहान सूर्य उदाउँदा सम्म छठ घाटमै जाग्राम बसेर पूजा गर्ने गर्दछन्। चार दिन लामो छठ पर्व सूर्यको पूजा र अर्घ्यदानपछि सम्पन्न हुन्छ। सूर्यपुराण लगायत धार्मिक ग्रन्थअनुसार छठ व्रत बसेमा मनले चिताएको कुरा पूरा हुने विश्वास गरिन्छ।
महाभारतकालमा द्रौपदीसहित पञ्चपाण्डवले सूर्यको पूजा आराधना गरी एक वर्षे अज्ञातवास सफल गरेका थिए भन्ने धार्मिक कथा पनि छ, जसको आधारमा छठ पर्व मनाउने परम्परा सुरु भएको मानिन्छ।




