काठमाडौँ :- नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई समृद्धिको बाटोतर्फ लैजान शान्तिपूर्ण निर्वाचन बाहेक विकल्प नरहेको स्पष्ट पारेका छन्।
सोमबार चितवनमा पत्रकारसँग कुरा गर्दै उनले पछिल्लो समय देशमा सिर्जना भएका चुनौतीहरूलाई सहज बनाउने उपाय निर्वाचन मात्र भएको बताए। उनले भने, “चुनाव हुन्छ वा हुँदैन भन्ने होइन, चुनावको विकल्प छैन। त्यसैले पार्टी यसको तयारीमा लागिसकेको छ।”
संयोजक दाहालले पार्टीको पहिलो जिम्मेवारी निर्वाचन सफल पार्नु भएको भन्दै, पार्टीका सबै तहका नेता र कार्यकर्तालाई तयारीमा जुट्न निर्देशन दिइसकेको बताए।
उनले नेपाली कांग्रेस लगायत अन्य दलका नेताहरूसँग पनि निर्वाचन अपरिहार्य भएको विषयमा छलफल गरिरहेको र समाजवादी मोर्चाका पार्टीहरूसँग एकताको प्रयास सकारात्मक भएको जानकारी दिए।




