काठमाडौँ :- गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न माग राखेर सडकमा प्रदर्शन गरिरहेका समूहहरूलाई संवादको माध्यमबाट मुद्दा समाधान गर्न आग्रह गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षा निकायका प्रमुखहरूसहितको छलफलपछि उहाँले सरकारले संवादका लागि पूर्णतया तयार रहेको स्पष्ट गर्नुभयो।
उहाँले भन्नुभयो, “राजनीतिक मागहरू सरकार संवादमार्फत सम्बोधन गर्छ। संवादमा आउनु आवश्यक छ, सडकमा जानु आवश्यक छैन।” साथै, लोकतान्त्रिक अधिकार प्रयोग गर्दा अरूको अधिकार हनन् नहुने र प्रदर्शनकारीहरूले सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति नगर्न सचेत हुनुपर्ने उहाँको जोड थियो।
गृहमन्त्री अर्यालले थप्नुभयो, “कुनै हिंसात्मक गतिविधि हुनुहुँदैन। विभिन्न राजनीतिक शक्ति र आन्दोलनकारीलाई सरकारको यही अनुरोध छ।”
बालुवाटारमा भएको सुरक्षा बैठकमा मुलुकको पछिल्लो सुरक्षा अवस्था सूक्ष्म रूपमा मूल्यांकन गरिएको थियो। उनले सुरक्षा स्थितिलाई सामान्य बनाएर आगामी निर्वाचनको वातावरण बनाउन सरकारले केन्द्रित रहेको जानकारी समेत दिनुभयो।


