काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १०औँ केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्ने क्रम जारी छ।
ललितपुरको जावलाखेलमा भइरहेको बैठकको दोस्रो दिन बुधबार पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि सदस्यहरूले धारणा राख्दैछन्।
पार्टीका प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार आजसम्म ७५ जना केन्द्रीय सदस्यले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनबारे आफ्ना सुझाव र धारणा राखिसकेका छन्। बुधबारको बैठकमा मात्र ५० जना सदस्यले धारणा राखेका थिए।
बैठकमा प्रत्येक केन्द्रीय सदस्यलाई तीन मिनेटको समय दिइएको छ। बैठक शुक्रबारसम्म सञ्चालन हुने भएकाले सबै सदस्यको धारणा सुनेपछि पदाधिकारीहरूले आफ्ना विचार राख्ने कार्यक्रम छ। त्यसपछि अध्यक्ष ओलीले प्राप्त सुझाव र जिज्ञासाहरूको एकमुष्ट जवाफ दिँदै बैठक समापन गर्नुहुनेछ।
आजका सदस्यहरूले जेनजी प्रदर्शनपछि मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, पार्टी महाधिवेशन, र पार्टीमा सुशासनका पक्षमा धारणा राखेका थिए। बाँकी सदस्यहरूले भोलि आफ्नो धारणा राख्ने व्यवस्था छ। बैठक अहिले पनि जारी छ।


