काठमाडौँ :- प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनरत नर्सहरुको समस्या तत्काल समाधान गर्न निर्देशन दिएकी छन्।
आज प्रधानमन्त्री कार्कीले स्वास्थ्य सचिव डा. विकास देवकोटालाई बोलाएर आन्दोलनरत नर्सहरुको माग तत्काल सम्बोधन गर्न निर्देशन दिइन्। स्वास्थ्य मन्त्रीको जिम्मेवारीसमेत बहन गर्ने कार्कीले नर्सहरुको समस्या बुझेर छिटो कदम चाल्न र प्रगतिबारे नियमित जानकारी दिन निर्देशन दिएकी छन्।
प्रधानमन्त्री कार्कीले देशमा रहेका दक्ष जनशक्तिलाई न्यून पारिश्रमिकमा राख्नु उचित नभएको उल्लेख गर्दै, समस्या समाधान नभए ठूलो जनशक्ति विदेश पलायन हुने जोखिम बढ्ने चेतावनी दिइन्।
स्वास्थ्य मन्त्रालयको निर्णयअनुसार पाँचौँ तह बराबरको पारिश्रमिक पाउनु पर्ने माग राख्दै कास्कीको मणिपाल र गण्डकी मेडिकल कलेजका नर्सहरु आन्दोलनमा छन्। मन्त्रालयले गत मङ्सिरमा सबै स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुको पारिश्रमिक ३४ हजार ७३० रुपैयाँ तोकिएको थियो।


