काठमाडौँ :- नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक निरन्तर जारी छ। बिहीबार दोस्रो दिनको बैठक बिहान ८ बजेबाट सुरु भएको हो। आजको बैठकमा पनि केन्द्रीय सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको विशेष प्रस्तावमाथि आफ्ना धारणा र सुझाव राख्ने क्रम जारी रहनेछ।
पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार, हिजोको बैठकमा ५० जना केन्द्रीय सदस्यले धारणा राखेका थिए। बिहीबार करिब १०० सदस्यले आफ्नो विचार राख्ने अनुमान गरिएको छ। सबै सदस्यले समय लिएमा बैठक लम्बिन सक्ने संकेत देखिएको छ।
बैठकमा प्रत्येक सदस्यलाई तीन मिनेट बोल्ने समय तोकिएको छ। निर्धारित समय पूरा भएपछि माइक स्वतः बन्द हुने व्यवस्था गरिएको छ। बोल्ने पालो वर्णानुक्रम अनुसार तय गरिएको छ।
हिजोको बैठकमा अध्यक्ष ओलीले मंसिर २७ देखि २९ गतेसम्म पोखरामा पार्टीको ११औं महाधिवेशन गर्ने प्रस्ताव प्रस्तुत गरेका थिए।
सदस्यहरूको धारणा सुनेपछि पदाधिकारीहरूले पनि आफ्नो विचार प्रस्तुत गर्नेछन्। अन्त्यमा अध्यक्ष ओलीले बैठकमा उठेका सुझाव र जिज्ञासाको समग्र जवाफ दिने तयारी गरेका छन्।


