काठमाडौँ :- राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले जेनजी आन्दोलनमा पार्टीको सहभागीता रहेको बताएका छन् । आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टी सदस्यहरू आन्दोलनमा सहभागी भएको बताएका हुन् ।
पार्टीको झण्डा नबोकी सदस्यहरूलाई आन्दोलनमा सहभागी हुन आह्वान गरिएको उनको भनाइ थियो । उनले भने, ‘हाम्रो पार्टीमा जेन जी अहिले पनि हुनुहुन्छ । हाम्रो प्रतिनिधि सभाको सचेतक नै जेनजी पुस्ताबाट हुनुहुन्छ । उहाँहरू पनि जानुभएको थियो । केन्द्रीय सदस्य त्यो बेलामा हुनुहुन्थ्यो सुमनाजी पनि जानुभएको थियो,’ ‘गणेश कार्की, कान्तिशिखा लगायतका केन्द्रीय सदस्यहरू, सम्भवत: अरु पार्टीको तुलनामा संख्यागत र प्रतिशतगत रुपमा हामी सबैभन्दा बढी उपस्थित थियौँ, त्यहाँ । तर हामीले कुनै पनि ठाउँमा राष्ट्रिय स्वतन्त्र पार्टीको आन्दोलन हो, अगुवाइ हो भनेर दाबी गरेका थिएनौँ ।’




