काठमाडौँ :- राष्ट्रपति रामचन्द्र पौडेलले गौरापर्व नेपाली मौलिक संस्कृतिको संरक्षण र संवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने पर्व भएको बताएका छन्।
गौरापर्व–२०८२ को शुभकामना सन्देश दिँदै उनले यस पर्वले सम्पूर्ण नेपालीमा आपसी समझदारी, सद्भाव, दिगो शान्ति र भाइचाराको भावना अभिवृद्धि गर्न प्रेरणा दिने विश्वास व्यक्त गरे। राष्ट्रपति पौडेलका अनुसार यस्ता पर्वहरूले विविधतामा एकता, सामाजिक तथा सांस्कृतिक ऐक्यबद्धता र सहिष्णुता बढाउँदै परिवार, समाज र राष्ट्रलाई अझ मजबुत बनाउने काम गर्छन्।
गौरापर्वको अवसरमा उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।
हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीसम्म विशेषगरी नेपालका पश्चिमी क्षेत्रमा मनाइने गौरापर्वले भौगोलिक, धार्मिक र सांस्कृतिक आस्था सँगसँगै आपसी सद्भावलाई प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेलेको स्मरण राष्ट्रपति पौडेलले गरेका छन्।




