काठमाडौँ :- प्रतिनिधिसभा अन्तर्गतको रिक्त राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा नेकपा एमालेले दाबी नगर्ने भएको छ ।
एमालेका प्रमुख सचेतक महेश बर्तौलाले राज्य व्यवस्था समितिको सभापतिमा एमालेले दाबी नगर्ने बताएका हुन् । यसअघि पनि नेपाली कांग्रेसकै सभापति रहेकाले अहिले पनि पहिलो रोजाई कांग्रेसकै हुने बर्तौलाको भनाइ छ ।
बर्तौलाले भने, ‘संसद् सचिवालयले आज समिति सभापतिको निर्वाचनका लागि सूचना निकाल्दैछ । यो पदमा नेकपा एमालेले उम्मेदवारी दर्ता गर्दैन । पहिलो रोजाई कांग्रेसकै हुन्छ । यदि कांग्रेसले आफ्नो उम्मेदवारी रहँदैन भन्यो भने मात्र हामी पार्टीमा छलफल गर्छौं’ । कांग्रेसले दिएको उम्मेदवारीलाई हाम्रो समर्थन रहन्छ ।’
सङ्घीय निजामती विधेयकको प्रस्तावित मस्यौदामा कुलिङ अफ पिरियड सम्बन्धी व्यवस्थामा चलखेल भएपछि गठित समितिले राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडा नैतिक र राजनीतिक जिम्मेवार ठहर गरेपछि उनले राजीनामा दिएसँगै सभापति पद रिक्त हुन पुगेको थियो ।
समितिको सभापति रिक्त भएको १५ दिनभित्र चयन गरिसक्नुपर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार आज सभापति चयनका लागि संसद् सचिवालयले निर्वाचनको कार्यतालिका सार्वजनिक गर्दैछ ।




