काठमाडौँ :- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली भूगोलको सम्मान गर्न छिमेकी राष्ट्रहरूलाई समेत आह्वान गरेका छन् ।
पार्टीको चौथो स्थापना दिवसका अवसरमा आज विज्ञप्ति जारी गर्दै उनले मुलुकको सार्वभौमिकता, भूगोलको रक्षाका लागि आवश्यक सबैखाले पहलकदमी लिन सरकारलाई आग्रह गरेका छन् । देशको सार्वभौमिकता रक्षाका लागि सम्बन्धित पक्षलाई सबैको सहकार्य र समन्वयबाट दबाब दिनुपर्ने बताउँदै मुलुकको सार्वभौमिकता र भूगोलको रक्षाका निम्ति आवश्यक सबैखाले पहलकदमी लिन सरकार लगायत सम्बन्धित सबै पक्षलाई दबाब दिनुपर्ने नेपालले उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘ऐतिहासिक तथ्य र प्रमाणका आधारमा समेत नेपालकै रहेका भूभागहरु कालापानी, लिपुलेक र लिम्पियाधुरामाथि हाम्रो सार्वभौमितामा आँच पुग्ने गरी भारत र चीनबीच समझदारी भएको भनेर सञ्चारमाध्यममा समाचारहरु आइरहेका छन् । पार्टी पुनर्गठन दिवसको यस अवसरमा हामी मुलुकको सार्वभौमिकताको रक्षा गर्न पारस्परिक संवाद लगायत कुनै पनि कसर बाँकी नराख सरकारको गंभीर ध्यानाकर्षण गराउँदै नेपालको सार्वभौमिकता र भूगोलको सम्मान गर्न छिमेकी राष्ट्रहरुलाई समेत आव्हान गर्दछौं ।’




