भुम्लु (काभ्रे) । ५० वर्षदेखि जग्गाधनी प्रमाण पुर्जा विहिन रहँदै आएका भुम्लु गाउँपालिका–७ र ८ का ३७८ नागरिकलाई भोलि मंगलबार (भाद्र ३ गते) विशेष कार्यक्रमका साथ पुर्जा वितरण गर्न लागिएको हो ।
भुम्लु गाउँपालिकाको प्राङ्गणमा हुने उक्त कार्यक्रममा भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारण मन्त्री माननीय बलराम अधिकारी प्रमुख अतिथिका रुपमा उपस्थित हुनेछन्।
गाउँपालिका अध्यक्ष प्रेम बहादुर भुजेलले लामो समयदेखि प्रतीक्षारत आफ्ना नागरिकलाई पुर्जा वितरण गर्न पाउँदा खुशी लागेको बताए। उनले भने, “पुर्जा वितरणले नागरिकको समस्या समाधानतर्फ ठूलो योगदान पुर्याउने छ।”
पहिलो चरणमा वडा नं. ७ का १७४ र वडा नं. ८ का २०४ गरी जम्मा ३७८ जग्गाधनीलाई पुर्जा वितरण हुने गाउपालिकाका अध्यक्ष भुजेलले बागमती छड्केलाइ जानकारी गराए ।
त्यसैगरी, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर खत्रीले पुर्जा वितरणका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएका छन्। यसअघि प्रकाशित नामावली अनुसार क्रमबद्धरुपमा जग्गाधनी प्रमाण पुर्जा वितरण गरिनेछ।




