काभ्रे :- ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले उद्योगहरूले प्रयोग गरेको विद्युत्को महसुल तिर्नुपर्दैन भनेर सरकारले कहिल्यै नभनेको स्पष्ट पारेका छन् । नेपाल विद्युत् प्राधिकरणको ४० औँ वार्षिकोत्सवका अवसरमा शुक्रवार प्राधिकरणमा कार्यरत कर्मचारीलाई दीर्घसेवा पदक, अवकाश पदक र अमर विद्युतकर्मीलाई सम्मान कार्यक्रममा बोल्दै उनले विद्युत् प्राधिकरणले प्रवाह गरेको विद्युत् उद्योग धन्दाहरुमा प्रयोग भएको र महसुल नतिरेर थन्किएको अवस्था रहेको बताए ।
मन्त्री खड्काले उद्योग धन्दाहरूले प्रयोग गरे जति विद्युतको महसुल तिर्नुपर्ने बताए । प्रयोग भएको विद्युत्को महसुल तिर्नुपर्दैन भन्ने कुरा सरकारको कल्पना बाहिरको कुरा रहेको उनले बताए । उनले भने, ‘हामीले प्रवाह गरेको विद्युत्, उद्योग धन्दाहरूमा दिएको विद्युत्को महसुल नतिरेर थन्किएको अवस्थामा छ । जति प्रयोग गरेको हो, त्यो बराबरको असुल गर्न सक्नुपर्छ ।
सरकारले कहिले पनि भनेको छैन, यो विद्युत्को महसुल उठाउनु हुँदैन भनेर । सरकारले यति मात्रै भनेको छ, चाहे त्यो लाल आयोगको कुरा गर्नुस्, चाहे क्याबिनेट निर्णयको कुरा गर्नुस् वा मन्त्रालयको निर्णयको कुरा गर्नुस्, खालि के भनेको छ भने मान्छेलाई अन्याय हुन दिनु हुँदैन, जति प्रयोग गरेको हो, त्यतिको असुली गर्नुपर्दछ ।’




