काठमाडौँ :- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हरित अर्थतन्त्रको प्रवर्द्धनमार्फत नेपालले आर्थिक वृद्धिको बाटोमा रहेका चुनौतीहरूको सामना गर्न सक्ने बताएका छन् ।
आज काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले उच्च र दिगो आर्थिक वृद्धि, रोजगारी सिर्जना, गुणस्तरीय मानव पुँजी विकास, हरित अर्थतन्त्रको प्रवर्द्धन, सामाजिक समावेशीकरण एवं लगानी तथा व्यापार प्रवर्द्धनको माध्यमबाट नेपालले आर्थिक वृद्धिको बाटोमा रहेका चुनौतीहरूको सामना गर्न सक्ने बताए ।
यसका लागि सरकार, निजी क्षेत्र, सहकारी, गैरसरकारी तथा सामाजिक संघ संस्था, विकास साझेदार बिचको सहयोग र सहकार्य अझ घनिष्ठ बनाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । विपद् तथा जलवायु परिवर्तनको असरबाट नागरिक र अर्थतन्त्रको उत्थानशीलता विकास गर्नु नेपालको लागि चुनौतीपूर्ण विषय बनेको समेत बताए ।
उनले नेपालले कार्यान्वयनमा प्राथमिकता दिएको दिगो विकासको लक्ष्य हासिल गर्ने, हरित अर्थतन्त्र विकास गर्ने, जलवायु सम्बन्धी विश्वव्यापी कोषहरूमा पहुँच कायम गर्दै उत्थानशीलता विकास गर्नुपर्नेमा जोड दिनुपर्ने आवश्यकता औँल्याए ।




