काठमाडौँ । सरकारले डिजिटल भुक्तानीमा लाग्दै आएको कर खारेज भएसँगै सेवा शुल्क घटेको छ ।
अघिल्लो वर्ष तत्कालीन अर्थमन्त्री वर्षमान पुनले यस्तो कारोबारमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने व्यवस्था गरेका थिए ।
तर, उक्त करलाई बिहीबार आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत अर्थमन्त्री विष्णु पौडेलले खारेज गरेका थिए । अर्थमन्त्री पौडेलले डिजिटल भुक्तानीमा लाग्दै आएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज भएसँगै शुक्रबारदेखि नै सेवा प्रदायकले डिजिटल भुक्तानीमा सेवा शुल्क घटाएका छन् ।
यसअघिसम्म ११ रुपैयाँ ३० पैसा लाग्दै आएको शुल्क अब १० रुपैयाँमा झरेको छ । त्यस्तै ९ रुपैयाँ ४ पैसा लाग्दै आएको शुल्क ८ रुपैयाँमा झरेको छ । बिहीबारसम्म एउटा सेवा प्रदायकबाट अर्को सेवा प्रदायको खातामा रकम ट्रान्सफर गर्दा प्रति पटक १० रुपैयाँ शुल्क लिने गरेका छन् ।
सरकारले १३ प्रतिशत भ्याट लगाउँदा १.३० रुपैयाँ सहित ग्राहकले प्रति कारोबार ११ रुपैयाँ ३० पैसा तिर्नुपर्थ्यो ।




