काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार दिउँसो ३ बजे आगामी आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको अनुमान (बजेट) पेस गर्ने भएका छन् ।
यस्तै, बिहीबार दिउँसो साढे १ बजे अर्थमन्त्री पौडेलले आर्थिक वर्ष ०८२/०८३ को आर्थिक सर्वेक्षण पेस गर्ने कार्यक्रम रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।
आगामी आर्थिक वर्षको बजेटले अर्थतन्त्रमा प्रस्थान विन्दु निर्धारण गरेर दोस्रो चरणको आर्थिक सुधारका योजना ल्याउने अनुमान गरिएको छ । आगामी आर्थिक वर्षमा अर्थमन्त्री पौडेलले २० खर्ब रुपैयाँ हाराहारीमा बजेट ल्याउने अनुमान गरिएको छ ।
राष्ट्रिय योजना आयोगको राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आर्थिक वर्षका लागि १९ खर्ब रुपैयाँ बजेट सीमा निर्धारण गरेर अर्थ मन्त्रालयलाई दिएको छ । स्रोतको चापमा परेका बेला सरकारलाई ठूलो आकारको बजेट ल्याउन सकस परेको छ ।




