काठमाडौँ । नेपाल राष्ट्र बैँकले आइतबार बैँकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ उठाउने भएको छ । पछिल्लो समय बजारमा अधिक तरलता भएसँगै राष्ट्र बैँकले बैँकिङ प्रणालीबाट निरन्तर रूपमा निक्षेप रकम उठाइरहेको छ ।
राष्ट्र बैँकले २१ दिनका लागि बोलकबोल आह्वान गरेको छ, जसमा बैँक तथा वित्तीय संस्थाहरूले भाग लिन सक्नेछन्। आइतबार दिउँसो ३ बजे बोलकबोलको समय तोकेको छ ।
बैँक तथा वित्तीय संस्थाहरूले बोल गर्न सकिने रकम घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म रहेको छ ।
राष्ट्र बैँकका अनुसार सावाँ तथा ब्याज भुक्तानी आगामी जेठ १ गते तोकिएको छ भने यसको ब्याजदर समेत बोलकबोलको माध्यमबाट हुनेछ । निक्षेप सङ्कलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ ।




