काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई व्यङ्ग्य गर्दै धन्यवाद दिएका छन् ।
आइतबार राति प्रहरीको हिरासतबाट छुटेका थापाले आज बिहान सामाजिक सञ्जालमा प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई बर्बरतापूर्ण व्यवहारका लागि धन्यवाद दिएका हुन् । ‘धन्यवाद प्रम केपी ओली र गृहमन्त्री रमेश लेखकज्यू, तपाईँहरूको बर्बरतापूर्ण र अमानवीय व्यवहारको निम्ति’, थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
उनले आफूले निषेधित क्षेत्र नतोडेको दाबी समेत गरेका छन्। ‘हामीले निषेधित क्षेत्र र कानुन तोडेका थिएनौँ’, थापाले भनेका छन् । दमन र निषेधले विचार नमर्ने उल्लेख गर्दै अध्यक्ष थापाले हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापनाको संकल्प अझै सुदृढ भएको दाबी गरेका छन् ।




