काठमाडौँ । मधेस प्रदेश सरकारका मुख्यमन्त्री शतिस सिंहले प्रदेशका कर्मचारीहरूका कारण सरकारको पर्फमेन्समाथि नै प्रश्न उठेएको बताएका छन् ।
आज अर्थ मन्त्रालयको आयोजनामा राखिएको विनियोजन विधेयक २०८२ को लागि मस्यौदाका लागि सुझाव सङ्कलन कार्यक्रममा मुख्यमन्त्री सिंहले पछिल्लो समयमा प्रदेशका हरेक मन्त्रालयमा कार्यरत कर्मचारीहरू काम गर्ने मनसाय एकदम कम देखिएको बताए ।
कर्मचारीहरूको ढिलासुस्तीले प्रदेश सरकारको कामकारबाहीमा प्रश्न उठिरहेकाले यो आचरणलाई तत्काल सुधार गर्न उनले निर्देशन समेत दिए ।
कार्यक्रममा सहभागी सचिवहरूलाई उनले भने, ‘यो प्रवृत्तिले प्रदेश सरकारको पर्फमेन्समाथि नै प्रश्न उठ्छ, त्यसकारण यसलाई तपाइहरू सुधार गर्नुस् । बरु उत्कृष्ट काम गर्ने कर्मचारीलाई मनोबल बढाउनका लागि पुरस्कारको व्यवस्था गर्नुस्, त्यसमा प्रदेश सरकारले सबै सहयोग गर्छ । अनि लापरबाही गर्ने कर्मचारीहरूको घटुवा हुने व्यवस्था गर्नुस्, तब मात्रै यो समस्या समाधान हुनेछ ।’




