मनाङ :- मनाङबाट थोरङपास हुँदै मुस्ताङतर्फ जाँदै गरेका दुई भारतीय पदयात्रीलाई हिमपातमा फसेपछि सकुशल उद्धार गरिएको छ ।
नेपाली सेना र प्रहरीको संयुक्त टोलीले बुधबार साँझ उनीहरूको उद्धार गरेको हो । उद्धार हुनेमा भारतको केरलाका २९ वर्षीय फानिक टोनी र ३० वर्षीय मित्र बिन्दु रहेका छन् ।
बारागुङ मुक्तिक्षेत्र–१ मुक्तिनाथ र थोरङलापास क्षेत्रमा बुधबार दिउँसो हिमपात भएपछि उनीहरू पदमार्ग पहिल्याउन नसकी चिसापानी क्षेत्रमा अलपत्र परेका थिए ।
राउण्ड अन्नपूर्ण पदमार्ग हुँदै यात्रा गरिरहेका उनीहरू हिमपातका कारण बाटो हराएपछि स्थानीय निकायमार्फत जानकारी प्राप्त भएको थियो ।
नेपाली सेनाको इन्द्रबक्स गणका अनुसार संयुक्त उद्धार टोलीले साँझ करिब ८ बजे ड्रम क्याम्प क्षेत्रबाट उनीहरूलाई फेला पारी सुरक्षित रूपमा उद्धार गरेको हो ।




