काठमाडौं :- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता गरेकी छन्।
भेटमा प्रधानमन्त्री शाहले विपद्को कठिन परिस्थितिमा नेपालप्रति अमेरिकी सरकारबाट व्यक्त ऐक्यबद्धता र सहयोगप्रति आभार व्यक्त गरे। उनले बाढीका कारण नेपालीसँगै विदेशी नागरिकसमेत प्रभावित भएको उल्लेख गर्दै जलवायु परिवर्तनका कारण यस्ता विपद् सामना गर्नुपरेको बताए।
प्रधानमन्त्री शाहले जलवायुजन्य विपद् जोखिम न्यूनीकरण तथा प्रभाव न्यूनीकरणका लागि विश्वव्यापी सहकार्य र सामूहिक प्रयासलाई थप सुदृढ गर्नुपर्नेमा जोड दिए। साथै, नेपालको पर्यटन सम्भावना र पर्यटन क्षेत्रको विकासबारे चर्चा गर्दै अमेरिकी लगानीलाई नेपालले स्वागत गर्ने बताए।
भेटका क्रममा कार्यवाहक राजदूत बोल्डिनले रसुवामा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवार तथा समुदायप्रति समवेदना प्रकट गरिन्। उनले राहत, पुनःस्थापना र पुनर्निर्माणका प्रयासमा अमेरिकी सरकार आवश्यक सहयोग र सहकार्यका लागि तयार रहेको बताइन्।












