काठमाडौं :- संघीय संसद् सचिवालयले संसदीय सूचना, सेवा, अभिलेख तथा कामकारबाहीलाई थप व्यवस्थित, सहज, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्याएको छ।
हाल परीक्षणको चरणमा रहेको उक्त प्लेटफर्मको प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले शुभारम्भ गरेका हुन्।
प्लेटफर्ममा संसद्का सूचना, विधेयकको अवस्था, संसदीय क्यालेन्डर, सांसदको उपस्थिति तथा समिति र उपसमितिका विवरण एउटै स्थानबाट उपलब्ध हुने जनाइएको छ।
सभामुख अर्यालले संसद्का पुराना ढड्डा तथा दस्तावेजलाई डिजिटलाइज गरी दीर्घकालसम्म सुरक्षित राख्न र अध्ययन–अनुसन्धानमा सहजता ल्याउन प्रविधिको प्रयोग आवश्यक रहेको बताए।
राष्ट्रियसभा अध्यक्ष दाहालले संसद्, संसदीय समिति र सचिवालयका कामकारबाहीलाई कागजी प्रणालीबाट डिजिटल प्रणालीमा रूपान्तरण गर्दा सेवा प्रवाह छिटो, पारदर्शी, प्रभावकारी र जवाफदेही बन्ने विश्वास व्यक्त गरे।












