महोत्तरी :- महोत्तरीको गौशाला नगरपालिकामा मंगलबार बिहान स्कुल बस दुर्घटना हुँदा पाँच विद्यार्थीसहित ६ जना घाइते भएका छन्।
प्रहरीका अनुसार बिहान करिब ७:३० बजे गौशाला–९ डुमरवानास्थित भित्री सडकमा मोर्डन सारदा शिक्षा मदन बोर्डिङ स्कुलको बा१क ६१२९ नम्बरको बस इमली बजारबाट गौशालतर्फ जाँदै गर्दा अनियन्त्रित भई उखुबारीमा खसेको हो।
दुर्घटनामा बस चालक गौशाला–५ निवासी करिब ४० वर्षीय विजय भुजेल, गौशाला–११ निवासी १० वर्षीय प्रतिक कुशवाहा, ८ वर्षीय प्रज्वल कुशवाहा, १३ वर्षीया प्रिति कुशवाहा, गौशाला–९ निवासी १३ वर्षीय उमर शेख र गौशाला–११ निवासी ६ वर्षीय आदर्श कुशवाहा घाइते भएका छन्।
प्रहरीले घाइतेहरूको उद्धार गरी बीके अस्पताल गौशाला तथा स्थानीय मेडिकलमा उपचारका लागि पठाएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












