गण्डकी :- जिल्ला प्रशासन कार्यालय, कास्कीले बजारमा खाना पकाउने ग्यासको अभाव देखिन थालेपछि आपूर्ति र वितरणलाई सहज बनाउन पहल थालेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार कृत्रिम अभाव र कालोबजारी रोक्न बजार अनुगमन तीव्र पारिएको छ भने ग्यास बिक्रेतालाई अनावश्यक रूपमा ग्यास सञ्चित नगर्न सचेत गराइएको छ।
प्रशासनले पोखरामा ग्यास आपूर्ति गर्ने १९ वटा कम्पनीसँग समन्वय गर्दै आपूर्ति नियमित गर्न आग्रह गरेको छ। दैनिक प्राप्त र वितरण भएको ग्यासको अभिलेख राख्न तथा उपभोक्ताको विवरण अद्यावधिक गर्न पनि निर्देशन दिइएको छ।
प्रशासनका अनुसार केही दिनभित्र तीन वटा ग्यास बुलेट पोखरा भित्रिने भएकाले हाल देखिएको समस्या क्रमशः समाधान हुँदै जाने अपेक्षा गरिएको छ। साथै, ७० वर्षमाथिका ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका व्यक्ति र भाडामा बस्ने विद्यार्थीलाई प्राथमिकताका आधारमा ग्यास उपलब्ध गराउन आग्रह गरिएको छ।












