काठमाडौं :- नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले ‘मिसन पार्टी जागरण’लाई पार्टी निर्माणको महत्वपूर्ण अभियान भन्दै सबै पालिकामा प्रभावकारी रूपमा सञ्चालन गर्न निर्देशन दिएका छन्।
प्रदेश कमिटीका पदाधिकारी तथा ‘मिसन पार्टी जागरण’का केन्द्रीय प्रतिनिधिहरूसँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै उनले पार्टी र जनताबीचको सम्बन्ध थप सुदृढ बनाउन अभियानलाई सफल बनाउन आग्रह गरे।
पोखरेलले अभियानमा पार्टी कमिटीसँगै जनसंगठनहरूलाई पनि सक्रिय रूपमा परिचालन गरिने बताउँदै वर्ग, समुदाय तथा पेसागत क्षेत्रलाई समेटेर पार्टी विस्तारको दायरा फराकिलो बनाउन सुझाव दिए।
उनले पार्टी सुदृढीकरणका लागि विचार, संगठन र नेतृत्वमा पुनर्गठन आवश्यक रहेको उल्लेख गर्दै जनताको बहुदलीय जनवादलाई अझ समृद्ध बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिए।












