एजेन्सी :- संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा जारी युद्ध तत्काल अन्त्य गरी दिगो शान्ति स्थापना गर्न आग्रह गरेका छन्।
उनले होर्मुज र बाब अल–मन्डब जलमार्गमा अन्तर्राष्ट्रिय आवागमनको स्वतन्त्रता पूर्ण रूपमा पुनःस्थापित हुनुपर्ने र क्षेत्रीय तनाव समाधानका लागि कूटनीतिक पहल नै सबैभन्दा प्रभावकारी माध्यम भएको बताएका छन्।
गुटेरेसका अनुसार खाडी क्षेत्रमा विगत छ महिनादेखिको सैन्य तनावले व्यापार, ऊर्जा बजार, खाद्यान्न तथा मलको आपूर्ति शृङ्खलामा गम्भीर असर पारेको छ। यसले विशेषगरी आयातमा निर्भर कमजोर मुलुकहरूलाई थप संकटमा पारेको उनले उल्लेख गरेका छन्।
विश्व खाद्य कार्यक्रमको चेतावनी उद्धृत गर्दै उनले द्वन्द्वका कारण करिब ४५ करोड मानिस तीव्र खाद्य असुरक्षाको जोखिममा रहेको र बढ्दो महँगीले लाखौँ मानिस फेरि गरिबीमा धकेलिन सक्ने बताएका छन्।
गुटेरेसले हमासले हतियार त्याग्ने र इजरायलले गाजाबाट सेना फिर्ता गर्ने सम्बन्धमा भएको अमेरिकी घोषणालाई सकारात्मक कदमका रूपमा स्वागत गरेका छन्।












