काठमाडौँ :– राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जसहित तराई–मधेशका विभिन्न जिल्लामा उत्पन्न विषम परिस्थितिबारे पूर्वराष्ट्रपति डा. रामवरण यादव र पूर्वउपराष्ट्रपति परमानन्द झासँग छलफल गरेका छन्।
शनिबार राष्ट्रपति भवन शीतल निवासमा भएको छलफलमा राष्ट्रपति पौडेलले पछिल्ला घटनाप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि कायम रहँदै आएको सामाजिक, धार्मिक र जातीय सद्भाव, सहिष्णुता तथा राष्ट्रिय एकता जोगाउन सबै पक्षले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने धारणा राखेका थिए।
राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार छलफलमा वर्तमान परिस्थितिलाई संवाद र सहकार्यबाट समाधान गर्नुपर्नेमा जोड दिइएको थियो।
पूर्वराष्ट्रपति डा. रामवरण यादवले सरकारले सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा तथा आमनागरिकलाई साथमा लिएर संवेदनशील अवस्थाको समाधानतर्फ अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका थिए।












