काठमाडौँ :– प्रधानमन्त्री बालेन शाहले सुनसरीलगायतका जिल्लामा उत्पन्न पछिल्लो संवेदनशील अवस्थाको समाधान, नागरिकको जिउधनको सुरक्षा र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर तथा योजनाबद्ध रूपमा सक्रिय रहेको बताएका छन्।
शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले राज्यका सबै सुरक्षा संयन्त्र उच्च सतर्कताका साथ परिचालित भइसकेकाले नागरिकलाई विचलित नहुन र संयमता अपनाउन आग्रह गरे।
उनले सरकारको प्राथमिकता प्रभावित नागरिकसम्म पुगेर सुरक्षा प्रत्याभूति गराउने, घटनाको निष्पक्ष छानबिन गर्ने तथा शान्ति–सुरक्षालाई प्रभावकारी बनाउने रहेको बताए। परिस्थिति थप जटिल हुन नदिन सरकारले बहुपक्षीय रणनीति अपनाएको पनि उनले उल्लेख गरे।
प्रधानमन्त्री शाहले सांसदहरूलाई आ–आफ्ना निर्वाचन क्षेत्रमा पुगेर नागरिक र राज्यबीच विश्वास तथा सद्भावको पुल बन्न आग्रह गर्दै विपद् र आपत्कालीन अवस्थामा जनताको साथमा उभिनु जनप्रतिनिधिको मुख्य दायित्व भएको बताए।
छलफलमा सहभागी सांसदहरूले प्रधानमन्त्रीको आग्रहलाई सकारात्मक रूपमा लिँदै तत्काल आफ्नो निर्वाचन क्षेत्रमा खटिने प्रतिबद्धता जनाएका थिए। साथै, बिहीबार राष्ट्रका नाममा प्रधानमन्त्रीले गरेको सम्बोधनले देशभर, विशेषगरी प्रभावित क्षेत्रमा सकारात्मक सन्देश, विश्वास र भरोसा बढाएको उनीहरूले बताएका छन्।












