काठमाडौँ :– राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै प्रथम महिला सविता पौडेलसहित सानेपास्थित निवास पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन र आफन्तप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्।
राष्ट्रपति पौडेलले श्रेष्ठले विद्यार्थी जीवनदेखि लोकतन्त्रको स्थापना, पुनर्स्थापना र सुदृढीकरणका लागि भएका विभिन्न आन्दोलनमा खेलेको नेतृत्वदायी भूमिका, राष्ट्रप्रतिको समर्पण, लोकतन्त्रप्रतिको अटल आस्था, समाजवादप्रतिको निष्ठा तथा सार्वजनिक जीवनमा पुर्याएको योगदान सधैँ स्मरणीय रहने बताएका छन्।












