काठमाडौँ :– दोस्रो विवाह गरी श्रीमतीमार्फत लागुऔषध कारोबार सञ्चालन गर्दै आएका फरार प्रतिवादी कृष्ण यादव पुनः पक्राउ परेका छन्।
सप्तरीको छिन्नमस्ता गाउँपालिका–४ का ३४ वर्षीय यादवलाई लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले साउन १० गते सप्तरीको राजगढ गाउँपालिका–२ बाट पक्राउ गरेको हो।
अनुसन्धानअनुसार यादवले दोस्रो श्रीमती सबिना अधिकारीलाई काठमाडौंमा लोकसेवा तयारीका नाममा राखी, सप्तरीबाट पठाइने लागुऔषध संकलन र बिक्रीको जिम्मेवारी दिएका थिए। ब्यूरोले २०८२ असार १२ गते अधिकारीलाई १११ ग्राम २४० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको थियो।
यादवलाई त्यसपछि २०८२ असार २४ गते पक्राउ गरी काठमाडौं ल्याइए पनि उनी हिरासतबाट फरार भएका थिए। फरार भएपछि भारतको लौकी क्षेत्रमा बसेर आलु र प्याजको बोराभित्र लुकाएर काठमाडौंसम्म लागुऔषध पठाउने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
यसै प्रकरणमा २०८३ असार २७ गते ३०० ग्राम खैरो हेरोइनसहित तीन जना पक्राउ परेका थिए। उक्त लागुऔषध पनि यादवले नै पठाएको अनुसन्धानबाट पुष्टि भएको थियो।
यादवकी श्रीमती सबिना अधिकारीलाई पनि हिरासतबाट फरार भएपछि २०८२ फागुन २७ गते थानकोटबाट ८८ ग्राम खैरो हेरोइनसहित पुनः पक्राउ गरिएको थियो। उनी हाल पुर्पक्षका लागि केन्द्रीय कारागार जगन्नाथदेवल, सुन्धारामा रहेकी छन्।
प्रहरीले पुनः पक्राउ परेका कृष्ण यादवमाथि थप अनुसन्धान अघि बढाएको जनाएको छ।












