काठमाडौँ :– आज बसेको मन्त्रिपरिषद् बैठकले चार वटा विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिएको छ।
सरकारका प्रवक्ता तथा शिक्षा एवं खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार बैठकले संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाका सर्त र सुविधासम्बन्धी ऐन, २०५३ संशोधन गर्न बनेको विधेयक स्वीकृत गरेको छ।
यसैगरी संक्रामक रोग तथा पशु ऐनसम्बन्धी विधेयक, राहदानी ऐन, २०७६ संशोधन विधेयक र मानव बेचबिखन तथा ओसारपसार (पहिलो संशोधन) विधेयक पनि संघीय संसद्मा पेश गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू–
१) देहायका विधेयकहरू संघीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने:
-संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी ऐन, २०५३ लाई संशोधन गर्न बनेको विधेयक।
-खानी तथा खनिज पदार्थसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक।
-संक्रामक पशु रोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक।
-राहदानी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक।
-मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण (पहिलो संशोधन) विधेयक।
-बालश्रम निषेध तथा नियमित गर्न बनेको विधेयक।
-आन्तरिक वायुसेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक।
-मेलमिलाप सम्बन्धी ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयक।
-कर्मचारी सञ्चय कोष ऐन, २०१९ लाई संशोधन गर्न बनेको विधेयक।
२) सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनिमय सम्बन्धी कसूरको अनुसन्धान अधिकारी तोक्ने।
३) समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्य पदमा खेटराज दाहाल (सिन्धुली)लाई मनोनयन गर्ने।
४) प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (छैटौँ संशोधन) नियमावली, २०८३ लाई स्वीकृत गर्ने।












