काठमाडौँ :– चिकित्सा शिक्षा आयोगले आर्थिक वर्ष २०८३/८४ का लागि रु ६ अर्ब ५५ करोड २५ लाख ९८ हजार बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ।
प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको आयोगको २७औँ बैठकले नेपाल सरकारबाट विनियोजित रु ५ अर्ब ९९ करोड २१ लाख र आयोगको आन्तरिक स्रोतबाट रु ५६ करोड ४ लाख ९८ हजार बराबरको बजेट अनुमोदन गरेको आयोगका सूचना अधिकारी अर्जुन ढकालले जानकारी दिए।
बैठकले गत आर्थिक वर्षको अन्त्यसम्म आन्तरिक स्रोतमा रहेको बचत तथा चालु वर्षमा प्राप्त हुने अनुमानित आम्दानीमध्ये रु ५६ करोड ४ लाख ९८ हजार चालु आर्थिक वर्षमा खर्च गर्ने निर्णय गरेको छ। यसमध्ये रु ४७ करोड ४२ लाख ९८ हजार चालु खर्च र रु ८ करोड ६२ लाख पुँजीगत खर्चका लागि विनियोजन गरिएको छ।
बैठकमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता, आयोगका उपाध्यक्ष प्रा. डा. देवेन्द्रबहादुर खत्री, सदस्य सचिव वसन्तप्रसाद कोइरालालगायतको सहभागिता रहेको थियो।












