काठमाडौँ :– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको घटनामा नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो भन्दै सरकारसँग जवाफ माग गरेका छन्।
सोमबार जारी विज्ञप्तिमा थापाले सामाजिक सद्भावमा असर पार्न सक्ने संवेदनशील परिस्थितिमा राज्य अझ संयमित, सतर्क र जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्ने बताएका छन्। उनले परिस्थितिको समयमै मूल्याङ्कन, पर्याप्त समन्वय र सुरक्षा सतर्कताको अभावका कारण नागरिकको ज्यान जाने अवस्था सिर्जना हुनु दुःखद भएको उल्लेख गरेका छन्।
थापाले घटनाको तत्काल निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न, घाइतेहरूको उपचारमा ढिलाइ नगर्न तथा मृतकका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।













