काठमाडौँ :– अमेरिकाको सियाटलस्थित स्पेस निडल नजिक आयोजना गरिएको चर्चित ‘बाइट अफ सियाटल’ फुड फेस्टिभलमा भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने दुई वर्षीय बालकसहित पाँच जना घाइते भएका छन्।
आइतबार साँझ भएको घटनामा गोली लागेर दुई जनाको घटनास्थलमै मृत्यु भएको सियाटल फायर डिपार्टमेन्टकी प्रवक्ता ग्रेस नुनेजले जानकारी दिइन्। घाइते पाँच जनालाई हार्बरभ्यू मेडिकल सेन्टरमा उपचारका लागि लगिएको छ।
घाइतेमध्ये ५६ वर्षीया महिलाको अवस्था गम्भीर रहेको छ भने दुई वर्षीय बालक, २३ वर्षीय पुरुष र ३९ वर्षीया महिलाको अवस्था स्थिर रहेको जनाइएको छ। अर्की ४० वर्षीया महिलालाई सामान्य चोट लागेको छ।
वार्षिक रूपमा आयोजना हुने उक्त महोत्सवमा सयौँ खाद्य तथा खुद्रा व्यवसायी, कलाकार र ठूलो संख्यामा सर्वसाधारण सहभागी भएका थिए। स्थानीय समयअनुसार साँझ करिब ६ बजे कार्यक्रम समापनतर्फ अघि बढिरहेका बेला गोली चलेपछि सहभागीहरूबीच भागदौड मच्चिएको थियो।
घटनापछि ठूलो संख्यामा प्रहरी र उद्धारकर्मी परिचालन गरी सियाटल सेन्टर परिसर खाली गराइएको थियो। प्रहरीले घटनाको अनुसन्धान सुरु गरे पनि आक्रमणकारी पक्राउ परेको वा नपरेकोबारे तत्काल जानकारी दिएको छैन।
वासिङ्टन राज्यका गभर्नर बब फर्गुसनले घटनाबारे जानकारी लिइरहेको र स्थानीय प्रहरीलाई सहयोग गर्न राज्य प्रहरीको स्वाट टोली परिचालन गरिएको बताएका छन्। उनले पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै उद्धार तथा सुरक्षा कार्यमा खटिएका सुरक्षाकर्मीको प्रशंसा गरेका छन्।
प्रत्यक्षदर्शीहरूका अनुसार अचानक गोली चलेपछि मानिसहरू ज्यान जोगाउन भागेका थिए। फेथ आदिया हन्टरले आफूहरू खाना किनेर फर्किरहेका बेला गोली चलेको र नजिकैको भवनमा गएर आश्रय लिएको बताइन्।
अर्का प्रत्यक्षदर्शी रोबर्टो रामिरेजले सुरुमा पटाका पड्किएको जस्तो आवाज सुने पनि केही समयपछि मानिसहरूले ‘शूटर’ भन्दै भाग्न थालेपछि घटनाको गम्भीरता थाहा भएको बताए।
सन् १९८२ देखि आयोजना हुँदै आएको ‘बाइट अफ सियाटल’ तीनदिने खाद्य तथा सांस्कृतिक महोत्सव हो। आयोजकका अनुसार कार्यक्रममा हरेक वर्ष करिब तीन लाख ५० हजार मानिस सहभागी हुने गरेका छन्।












