काठमाडौँ :– कैलालीको धनगढीमा अनशनरत डा. गोविन्द केसी पक्ष र नेपाल सरकारका प्रतिनिधिबीच माग सम्बोधनका विषयमा वार्ता जारी रहेको छ। दुवै पक्षबीच सहमति जुटाउने उद्देश्यले सेती प्रादेशिक अस्पतालमा छलफल भइरहेको हो।
प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवाल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा तथा शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलसहितको सरकारी टोलीले डा. केसीका प्रतिनिधि डा. अमृत जैसी र पवन थापासँग वार्ता गरिरहेको शिक्षा सचिव पौडेलले जानकारी दिए।
उनका अनुसार पहिलो चरणमा डा. केसीका प्रतिनिधिसँग छलफल गरी सहमतिको आधार खोज्ने प्रयास भइरहेको छ। त्यसपछि छलफलको निष्कर्षका आधारमा डा. केसीसँग प्रत्यक्ष वार्ता गरिनेछ।
डा. केसी गत बिहीबारदेखि पाँचबुँदे माग राख्दै अनशनमा छन्। स्वास्थ्य अवस्था बिग्रिएपछि शनिबारदेखि उनलाई सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको छ।
उनका प्रमुख मागमा गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय तथा चिकित्सा शिक्षा आयोगमा स्वार्थ बाझिने गरी भएका नियमविपरीतका नियुक्ति खारेज, चिकित्सा शिक्षा ऐनका विवादित प्रावधान संशोधन, चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती गर्ने निर्णय र मापदण्ड तथा पूर्वाधारबिना निजी मेडिकल कलेजमा सिट वृद्धि गर्ने निर्णय वा प्रस्ताव तत्काल रद्द गर्नुपर्ने विषय समावेश छन्।
त्यसैगरी राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ अनुसार चिकित्सा शिक्षालाई पूर्ण गैरनाफामूलक बनाउने कानुनी व्यवस्था कार्यान्वयन, सरकारसँग विगतमा भएका लिखित सहमतिहरूको पालना तथा सुदूरपश्चिमसहित सीमावर्ती क्षेत्रका नागरिकलाई स्वास्थ्य, शिक्षा, यातायात र रोजगारीमा आत्मनिर्भर बनाउन आवश्यक पूर्वाधार र सेवा विस्तार गर्नुपर्ने माग पनि उनले अघि सारेका छन्।
यसका साथै भदौ २३ र २४ गते भएका हत्या, आगजनी र लुटपाटका घटनाका दोषीलाई कानुनी कारबाही गर्न तथा २०४६ सालदेखि हालसम्म उच्च पदस्थ राजनीतिज्ञ र पदाधिकारीबाट भएका भ्रष्टाचार र अपराधको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने मागसमेत डा. केसीले राखेका छन्।












