काठमाडौँ :- नेपाल आयल निगम सुर्खेतले वीरेन्द्रनगरमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट गर्दै भारतबाट आवश्यक परिमाणमा ग्यास नियमित रूपमा आयात भइरहेको जनाएको छ।
निगमका प्रमुख दीपककुमार घिमिरेका अनुसार अभाव हुन सक्ने मनोवैज्ञानिक त्रासका कारण आवश्यकताभन्दा बढी ग्यास सञ्चय गर्ने प्रवृत्ति बढ्दा वितरणमा केही प्रभाव परेको हो।
उपभोक्ताको सहजताका लागि ‘एक व्यक्ति, एक सिलिन्डर’ व्यवस्था लागू गरी अधिकृत बिक्रेतामार्फत विभिन्न कम्पनीका १४.२ केजी क्षमताका दुई हजार ९२२ वटा एलपी ग्यास सिलिन्डर प्रतिगोटा दुई हजार ६० रुपैयाँमा बिक्री–वितरण गरिने जनाएको छ।
निगमले उपभोक्तालाई अधिकृत बिक्रेताबाट मात्रै ग्यास खरिद गर्न, अनावश्यक सञ्चय नगर्न तथा तोकिएको मूल्यभन्दा बढी रकम असुलेको वा कृत्रिम अभाव सिर्जना गरेको जानकारी भएमा सम्बन्धित निकायमा सूचना दिन आग्रह गरेको छ।












