काठमाडौँ :- महोत्तरीको बर्दिबास नगरपालिका–१२ बिजलपुरामा सर्पको टोकाइबाट एक आठ वर्षीय बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय चन्दन कापरका ८ वर्षीय छोरा विवेक कापर रहेका छन्।
बुधबार साँझ घरछेउको आँपको रूखमा फल टिप्ने क्रममा विवेकलाई सर्पले टोकेको थियो। परिवारले तत्काल उपचारका लागि बर्दिबासस्थित जनसेवा अस्पताल पुर्याए पनि उपचारकै क्रममा बिहीबार बिहान उनको मृत्यु भएको अस्पतालले जनाएको छ।
आर्थिक रूपमा अत्यन्तै विपन्न रहेको परिवारले करिब ७० हजार रुपैयाँ उपचार खर्च तिर्न नसक्दा अस्पतालबाट शवसमेत बुझ्न नसकेको मृतकका आमा अमृतदेवी कापरले बताएकी छन्।
घटनाको जानकारीपछि मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री शारदा थापा तथा बर्दिबास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्री अस्पताल पुगेर आवश्यक समन्वय तथा सहयोगको पहल गरिरहेका छन्।












