काठमाडौँ :- तनहुँको व्यास नगरपालिका–७ स्थित कलेस्ती पुलमा मंगलबार यात्रुवाहक बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते भएका छन्। घाइतेमध्ये चालक शम्सेर नेपालीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार अपराह्न ३:१५ बजे कलेस्तीबाट दमौलीतर्फ आउँदै गरेको ग१ख ६४६५ नम्बरको बस अनियन्त्रित भई पुलमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनापछि चालक सिटमै च्यापिएका चालकलाई प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेको नेतृत्वमा खटिएको उद्धार टोलीले सकुशल बाहिर निकालेर रत्नहरि अस्पताल पठाएको छ।
बसमा २५ जना यात्रु सवार रहेकामा चालकसहित १५ जना घाइते भएका छन्। अन्य घाइतेहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।












